काठमाडौं। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यले भौतिक पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम अघि बढाइएको हो। शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो ऐतिहासिक कदम भएको बताउँदै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चालु आर्थिक वर्षमा ती विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। मन्त्री पोखरेलका अनुसार योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि पाँच अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। उक्त रकमबाट विद्यालयमा अत्याधुनिक १२ कोठे, तीनतले भवन निर्माणको काम अघि बढाइनेछ। प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागतमा निर्माण हुने भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। यसले विद्यार्थीको सिकाइ वातावरणलाई थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलले बताएका छन्। 'कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ। विद्यालयहरूबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ,' उनले भने, 'आगामी दिनमा देशका सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउँदै यो असमानता सधैँका लागि अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।' देशको भविष्य निर्माणमा अहोरात्र खट्ने शिक्षक, अभिभावक र विद्यार्थीलाई धन्यवाद दिँदै मन्त्री पोखरेलले सामुदायिक शिक्षाको मुहार फेर्न सबैको सहकार्य र हातेमालोको आह्वान गरेका छन्।