अर्घाखाँची। भुगर्भ सिमेन्टले जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीलाई ५० वटा लापसे (लागूपदार्थ सेवन) परीक्षण किट हस्तान्तरण गरेको छ। सन्धिखर्क नगरपालिका–७ को सहजीकरणमा परीक्षण किट हस्तान्तरण गरिएको हो। लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति नियन्त्रण गर्न तथा सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले किट हस्तान्तरण गरिएको जनाइएको छ। हस्तान्तरण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख लिलबहादुर कुँवर र सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसीले लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न परीक्षण किटले सहयोग पुग्ने बताए। ट्राफिक प्रहरीले परीक्षण अभियान तत्काल सञ्चालन गर्ने जनाइएको छ। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गणेश खनाल, प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य, पत्रकार सागर महत, पश्चिम नेपाल बस व्यवसायी सङ्घ तथा देउराली यातायात प्रालिका प्रतिनिधिलगायतको सहभागिता थियो। कार्यक्रमको सञ्चालन पत्रकार अनिल नेपालीले गरेका थिए।