वर्ल्ड लिङ्कदेखि भायानेटसम्म १४ इन्टरनेट प्रदायकलाई ५० हजारका दरले जरिवाना

  • मङगलबार २७ असो २०८३ ०२:५५ PM
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति पत्रका शर्तविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ । प्राधिकरणले आफ्नो निरीक्षण तथा जाँचबुझबाट अनुमति पत्रका सर्त तथा प्रचलित कानुन विपरीत सेवा सञ्चालन गरेको पाइएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा (१) बमोजिम ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरेको जनाएको छ । १४ सेवा प्रदायकबाट कुल सात लाख रुपैयाँ जरिवाना भएको छ । प्राधिकरणका अनुसार जरिवानामा पर्ने सेवा प्रदायकमा वर्ल्ड लिङ्क कम्युनिकेसन लिमिटेड, सिजी कम्युनिकेसन लिमिटेड, भायानेट कम्युनिकेसन लिमिटेड, क्लासिक टेक प्रालि, सुबिसु लिमिटेड, ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन प्रालि, डिश मिडिया नेटवर्क लिमिटेड, फाइबर वर्ल्ड कम्युनिकेसन प्रालि, फर्स्ट लिङ्क कम्युनिकेसन प्रालि, पोखरा इन्टरनेट प्रालि, टेकमाइन्ड्स नेटवर्क लिमिटेड,  वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालि, वाई फाइ नेपाल प्रालि र एरो नेट प्रालि छन् । प्राधिकरणले सम्बन्धित सेवा प्रदायकले सञ्चालन गरेका कुनै प्याकेज वा शुल्क प्राधिकरणबाट स्वीकृति नलिई सञ्चालन गरिएको भए त्यस्ता प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसको जानकारी प्राधिकरणलाई गराउन निर्देशन दिएको छ । त्यस्ता सेवाका कारण कुनै ग्राहकलाई हानि-नोक्सानी भएको भए ग्राहकले माग गरेको अवस्थामा हानि–नोक्सानीको बिगो वा सोबापतको क्षतिपूर्ति भराउनसमेत प्राधिकरणले सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले अनुमति पत्र प्राप्त सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ बमोजिम दूरसञ्चार सेवाका जुनसुकै प्याकेज तथा शुल्क लागू गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणबाट स्वीकृति लिनसमेत निर्देशन दिएको छ । प्राधिकरणले आफ्नो स्वीकृतिबिना कुनै पनि प्याकेज वा शुल्क सञ्चालन नगर्न तथा प्रचलित ऐन, नियम र अनुमति पत्रका सर्तको पूर्ण पालना गरी सेवा सञ्चालन गर्न सबै दूरसञ्चार सेवा प्रदायकलाई सचेत गराएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा सेवा प्रदायकले अनुमति पत्रका सर्त र प्रचलित कानुनअनुसार सेवा सञ्चालन गरे-नगरेको विषयमा गरिएको निरीक्षण तथा जाँचबुझका आधारमा कारबाही गरिएको उल्लेख छ ।