पोखरामा बहिरा युवाका लागि तीनहप्ते बारिस्टा तालिम सम्पन्न

  • सोमबार २६ असो २०८३ १२:०२ PM
पोखरा । बहिरा युवाको सीप विकास, रोजगारी तथा स्वरोजगारका अवसर विस्तार गर्ने उद्देश्यले कास्कीको पोखरामा सञ्चालित तीन हप्ते बारिस्टा तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) नेपालको सह लगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाअन्तर्गत राष्ट्रिय बहिरा महासङ्घ नेपालको आयोजनामा २० जना बहिरा युवाका लागि तालिम सञ्चालन गरिएको हो । पर्यटकीय राजधानी कास्कीको पोखरामा सञ्चालन गरिएको तालिमले बहिरा युवाको व्यावसायिक सीप विकाससँगै उनीहरूको आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।  तालिममार्फत पर्यटन क्षेत्रमा बहिरा युवाहरूको समावेशी सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यसमेत राखिएको थियो । तालिम सञ्चालनमा समन्वयकारी भूमिका निर्वाह गरेकोमा राष्ट्रिय बहिरा महासङ्घ नेपाल गण्डकी प्रदेश समिति र गण्डकी बहिरा सङ्घलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ । बहिरा युवालाई सीपमा दक्ष बनाएर उनीहरूका लागि रोजगारी तथा स्वरोजगारका अवसर विस्तार गर्ने र पर्यटन क्षेत्रको श्रम बजारमा उनीहरूको सहभागिता बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । तालिमले बहिरा युवालाई व्यावसायिक रूपमा सक्षम बनाउँदै आफ्नो सीप प्रयोग गरेर रोजगारी प्राप्त गर्न वा आफैँ स्वरोजगार बन्ने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । साथै, पर्यटन क्षेत्रमा बहिरा युवाको सहभागितालाई थप समावेशी बनाउने दिशामा तालिमले योगदान पुर्‍याउने आयोजकको विश्वास छ ।