राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला

  • शनिबार २४ असो २०८३ ०४:१६ PM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका संयोजक शशांक कोइरालाले राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्ने बताएका छन् । कांग्रेस काठमाडौं जिल्ला प्रदेश तथा क्षेत्रीय अधिवेशनमा बोल्दै उनले राजनीतिमा सबैलाई मिलाएर अघि बढ्ने क्रममा आफ्नो विचार नै धमिलिन सक्ने भन्दै आफ्नो स्पष्ट नीति र दृष्टिकोण आवश्यक रहेको बताएका हुन् । उनले राजनीतिमा सन्तुष्टिको अवस्था नरहने उल्लेख गर्दै आफूले लिएको बाटोप्रति विश्वास गर्न सक्ने व्यक्तिले मात्रै राजनीति गर्न सक्ने उनले बताए । उनले भने, ‘आफूलाई लागेको विश्वासमा अटल र आफ्नो स्पष्ट नीति हुनुपर्छ । राजनीति भनेको यस्तो नीति हो, जसमा आफ्नो मस्तिष्कमा क्लियर हुनुपर्छ कि म यो गर्छु ।’ उनले सत्यको पक्षमा उभिँदा त्यसको परिणामसमेत बेहोर्न तयार हुनुपर्ने बताए । उनले आफ्ना पिता बीपी कोइराला र मातृका प्रसाद कोइरालासँग जोडिएको भारतको ‘क्विट इन्डिया मुभमेन्ट’को प्रसंग सुनाउँदै सत्य बोलेपछि त्यसको मूल्य चुकाउन सक्ने साहस पनि आवश्यक हुने बताए । बीपी कोइरालाले महात्मा गान्धीको आह्वानअनुसार विद्यालय बहिष्कार गर्दा सजाय भोग्नुपरेको बताउदै उनले सत्य बोल्नु मात्रै पर्याप्त नभई त्यसका परिणाम सामना गर्न सक्नुपर्ने बताए । कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन पार्टीलाई एकताबद्ध बनाउन महत्वपूर्ण अवसर भएको पनि बताए । आगामी निर्वाचनमा कांग्रेस एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरे । कांग्रेसको लामो इतिहास, विचार र स्पष्ट नीतिका कारण पार्टी बलियो रहेको उनले बताए । कांग्रेसको नेतृत्वमा मुलुकमा सडक, शिक्षा, स्वास्थ्य, बैंकिङ तथा निजी क्षेत्रलगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण परिवर्तन भएको उनले बताए । उनले कांग्रेसले सत्ताको दुरुपयोग गर्न नहुने स्पष्ट पार्दै राजनीतिमा आउने व्यक्तिले जनताको हितलाई केन्द्रमा राख्नुपर्ने बताए । “कांग्रेसले सत्ताको दुरुपयोग गर्दैन, गर्नु हुँदैन र गर्दा पनि गर्दैन,‘ उनले भने । राजनीति व्यक्तिगत स्वार्थका लागि नभई सत्य, नीति र जनताको हितका लागि हुनुपर्नेमा जोड दिँदै कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्तालाई पार्टीको विचार र सिद्धान्तप्रति प्रतिबद्ध भएर अघि बढ्न आग्रह गरे ।