चित्त नबुझाएर छाडेका साथीहरूलाई पनि फर्काउँछौं : गगन थापा

  • शनिबार २४ असो २०८३ ०३:२१ PM
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले केही समयदेखि आफूहरूलाई चित्त नबुझाएर छाडेका गएका साथीहरूलाई समेत फर्काउने दाबी गरेका छन् । शनिबार १५ औं महाधिवेशनबाट सभापति निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हन् । ‘जो साथीहरू नेपाली कांग्रेस पार्टीमा हुनुहुन्थ्यो, मैले भनेको पार्टीको नेताहरूमात्रै होइन, त्योभन्दा बढी अझ पार्टीका शुभचिन्तक साथीहरू, पार्टीका समर्थकहरू, ती लाखौं मानिसहरू जसले वर्षौंसम्म कांग्रेसलाई माया गर्नुभयो, तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छाडेर जानुभएको छ । ती साथीहरूलाई हामी फर्काउँछौं,’ थापाले भनेका छन् । उनले असन्तुष्ट साथीहरूलाई पनि कांग्रेसकै घरमा आउँ आउँ लाग्ने बनाएरै छाड्ने बताए । ‘ती साथीरूलाई नेपाली कांग्रेसको कार्यालय, नेपाली कांग्रेसको घर, नेपाली कांग्रेसको परिवार, आउँ आउँ लाग्ने बनाएर छाड्छौं भन्ने संकल्पबाट हामी यात्रा प्रारम्भ गर्छौं,’ थापाले भने । उनले अब आफूहरू काम गर्ने तरिका बदलेर अघि बढ्ने जिकिर पनि गरे । ‘काम गर्ने तरिका बदल्ने छौं । काम गर्ने तरिका बदलेर सबैभन्दा पहिला जो साथीहरू हामीसँग हुनुहुन्छ, उहाँहरूको भरोसालाई अझै माथि उठाउने नै छौं,’ थापाले भने ।