पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

  • शनिबार २४ असो २०८३ ०२:२० PM
गुल्मी । पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा गएरति खसेको पहिरोका कारण उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध बनेपछि अहिले प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।  उनका अनुसार सडक अवरुद्ध बनेपछि चाडवाडको समयमा उक्त क्षेत्रबाट बागलुङ, पोखरा, पाल्पा तथा बुटवल जाने यात्रु र सवारीसाधन बीचबाटोमा रोकिएका छन् । पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याउनका लागि सडक निर्माण कम्पनी र स्थानीय गाउँपालिकासँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।