काठमाडौँ । शुक्रवार घडीले साँझको सात बजाउनै लाग्दा काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सभा हलमा एक फरक दृश्य र आत्मीय वातावरण थियो । करिब एक जना कर्मचारी, सञ्चारकर्मी र कार्यालय प्रमुखको उपस्थितिमा जिल्लाको सेवा प्रवाह र नेतृत्वको एउटा महत्त्वपूर्ण अध्यायको समापन तथा नयाँ सुरुआत भइरहेको थियो । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) मुक्तिराम रिजालको बिदाइ समारोह चलिरहेको थियो । रिजाल सरुवा भई पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी बाजुरामा सम्हाल्न जान लागेका हुन् । दुई वर्षसम्म काठमाडौँ जिल्ला प्रशासनमा रहेर सेवा गरेका रिजालको बिदाइ एकातिर भावुक थियो भने अर्कोतिर प्रशासनिक सुधार र नेतृत्वका अनौठा शिक्षाले भरिपूर्ण थियो । आन्दोलनको त्रास, चौरको प्लास्टिकको कुर्सी र शून्यबाट सेवा सुरुआत बिदाइ सम्बोधनका क्रममा सहायक सिडिओ मुक्तिराम रिजालले काठमाडौँ जिल्ला प्रशासनमा बिताएका कठिन र चुनौतीले भरिएका दिनको सम्झना गरे । आन्दोलन पछिको विषम परिस्थितिमा कार्यालयको स्वरूप र भौतिक संरचना नै लथालिङ्ग बनेको अवस्था थियो । ‘क्यारियर के हुने हो र भोलिको परिस्थिति कस्तो होला भन्ने अन्योलका बिच हामी जेनजी विद्रोह भएको गत वर्ष भदौ २५-२६ गतेदेखि कार्यालय कम्पाउन्डमा उभियौँ,’ रिजालले भावुक हुँदै सम्झिए । न त बस्ने कुर्सी थियो, न त काम गर्ने टेबल नै । नजिकैको ‘शिवम होल्डिङ्स’ले सहयोग स्वरूप उपलब्ध गराएका प्लास्टिकका कुर्सी र टेबल कम्पाउन्डको चौरमा राखेर सेवा सुरु गरिएको थियो । विपद् व्यवस्थापन प्राधिकरणबाट एउटा टेन्ट मागेर राखियो भने कर्मचारी आफैँले हातमा कुचो लिएर परिसर सरसफाइमा खटिएका थिए । निर्माण व्यवसायी महासङ्घसँग मागेका १० वटा कम्प्युटर र जोगाइएका केही राहदानी (पासपोर्ट) बाट सुरु भएको सेवा बिस्तारै शान्ति सुरक्षा, नागरिकता हुँदै पूर्ण लयमा फर्कियो । रिजालका अनुसार जिल्ला प्रशासन काठमाडौँमा दुई वर्ष बस्दा चार जना सिडिओसँग काम गर्ने अवसर मिल्यो, जसमध्ये ५० प्रतिशत कार्यकाल वर्तमान प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलसँग बिताए । बाँकी समय जयनारायण आचार्य, ऋषिराम तिवारी र छविलाल रिजालसँग बिताए । ‘जिरोबाट उठाएर जिल्ला प्रशासन कार्यालयलाई आज देशकै ‘मोडेल अफिस’ बनाउन पाइयो । प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले समेत देशभरका जिल्ला प्रशासनलाई ‘काठमाडौँ जस्तै बन’ भनेर निर्देशन दिने अवस्थासम्म पुर्याउन पाउनु ठुलो सिकाइ र अवसर रह्यो,’ रिजालले बताए । ‘भाँचिएको कुर्सीको पाङ्ग्रो आफैँ फेर्नुस्’: सिडिओ इश्वराज पौडेलको कडा नेतृत्व दर्शन समारोहमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) इश्वराज पौडेलले रिजालको कार्यशैली र निष्ठाको मुक्तकण्ठले प्रशंसा गरे । ‘उहाँ गृह प्रशासनका लागि एकदमै अब्बल र पर्फेक्ट मान्छे हुनुहुन्छ,’ पौडेलले भने । आफूले विगतमा मुगु जिल्लामा झन्डै पाँच वर्ष बिताएको स्मरण गर्दै सिडिओ पौडेलले देशको कुनै पनि भूगोल वा माटो नराम्रो नहुने बताए । ‘अफ्रिकाका गाउँ र अरबका मरुभूमि कहाँ पुगिसके, हाम्रा त स्वर्ग जस्ता गाउँ छन्,’ पौडेलले भने । ‘जहाँ गए पनि त्यो माटो र जनताको सेवा निष्ठापूर्वक गर्नुपर्छ ।’ पहिलो पटक सिडिओको कमान्ड सम्हाल्न बाजुरा जान लागेका रिजाललाई पौडेलले प्रशासनिक सुधारको कडा मन्त्र दिए । ‘गएको भोलिपल्टैबाट सुधार, सुधार र निरन्तर सुधार (रिफर्म, रिफर्म, रिफर्म अगेन) को मोडलमा जानुपर्छ । आफू बस्ने कुर्सीको पाङ्ग्रो खुस्कियो वा ढल्कियो भने अर्काले फेरिदेला भनेर डेढ वर्ष ढल्केकै कुर्सीमा बस्ने हाकिमले के सुधार गर्छन्