काठमाडौँ । सरकारका विभिन्न मन्त्रालय तथा मातहतका निकायमा सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापनका लागि सरकारले नयाँ कार्यविधि तथा सर्त तोकेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार परिपत्र जारी गर्दै मन्त्रिपरिषद्को यहीँ असोज २१ गतेको निर्णयअनुसार स्वीकृत मापदण्ड कार्यान्वयन गर्न मातहतका सम्पूर्ण निकायलाई निर्देशन दिएको हो । ओ एन्ड एम (सङ्गठन तथा व्यवस्थापन) सर्वेक्षणपश्चात् तयार पारिएको यो नयाँ व्यवस्थाले करारमा कार्यरत कर्मचारीको पारिश्रमिक, सामाजिक सुरक्षा, बिदा र सेवा निरन्तरताका सर्तमा स्पष्टता ल्याएको छ । सामाजिक सुरक्षा र चाडपर्व भत्ताको व्यवस्था नयाँ मापदण्डअनुसार सेवा करारमा कार्यरत कर्मचारीलाई पनि निजामती कर्मचारीसरह निश्चित सेवा सुविधा उपलब्ध गराइने भएको छ । गत साउन १ गतेदेखि लागू हुने गरी करार कर्मचारीलाई मासिक दुई हजार महँगी भत्ता उपलब्ध गराइनेछ । त्यसै गरी, कम्तीमा छ महिना सेवा अवधि पूरा गरेका कर्मचारीलाई सालबसाली रूपमा एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च र चैत महिनामा निजामती कर्मचारीसरह पोसाक भत्ता दिने व्यवस्था गरिएको छ । करार कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित गर्न आगामी माघ एक गतेदेखि लागू हुने गरी कर्मचारीको मासिक पारिश्रमिकबाट ६ प्रतिशत कट्टा गरी सोही बराबरको (६ प्रतिशत) रकम सरकारले थप गरेर कुल १२ प्रतिशत रकम कर्मचारी सञ्चय कोषमा जम्मा गरिनेछ । सेवा अन्त्य, ५८ वर्षे उमेर हद र राहत रकम नयाँ मापदण्डले करारमा कार्यरत कर्मचारीको उमेर ५८ वर्ष पूरा भएमा सेवा स्वतः अन्त्य हुने स्पष्ट पारेको छ । सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका क्रममा स्वीकृत दरबन्दी कटौती भई फाजिलमा परेका तर पाँच वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीको सेवा अन्त्य गर्दा विशेष राहतको व्यवस्था गरिएको छ । यस्ता कर्मचारीलाई कार्य गरेको प्रत्येक वर्षका लागि सुरु तलब स्केलको आधा महिनाको पारिश्रमिक बराबरको रकम एकमुष्ट रूपमा उपलब्ध गराई सेवा अन्त्य गरिनेछ । बिदा र गोपनीयता सम्बन्धी कडा नियम करारमा कार्यरत कर्मचारीले पाउने बिदाको दायरा पनि तोकिएको छ । जसमा सार्वजनिक बिदाबाहेक महिनाको एक दिनका दरले वर्षमा १२ दिन बिदा पाइनेछ । यो बिदा सञ्चित हुने छैन र यस बापत रकम भुक्तानी गरिने छैन । यस्तै धर्म, संस्कृति वा परम्पराअनुसार बढीमा १५ दिन क्रिया बिदा दिइने व्यवस्था गरिएको छ । महिला कर्मचारीका लागि सुत्केरी हुनुअघि र पछि गरी बढीमा ९८ दिन सुत्केरी बिदाको व्यवस्था गरिएको छ । आचरणका दृष्टिले करार कर्मचारीले निजामती सेवा ऐन–नियमबमोजिमको अनुशासन पालना गर्नुपर्नेछ । कार्यालयका गोप्य सूचना, कागजात वा विवरण अनधिकृत व्यक्ति, संस्था वा मिडिया तथा प्रेसमा उपलब्ध गराउन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । लगातार सात दिनभन्दा बढी बिना सूचना अनुपस्थित रहेमा वा अनुशासन भङ्ग गरेमा करार सम्झौता अन्त्य गर्न सकिनेछ । नवीकरण र नयाँ सम्झौताको ढाँचा करार अवधि समाप्त हुनुअघि कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन, आचरण, अनुशासन, सेवाको निरन्तर आवश्यकता, स्वीकृत दरबन्दी र बजेटको उपलब्धताका आधारमा मात्र पारदर्शी रूपमा करार नवीकरण गरिनेछ । कार्यसम्पादन सन्तोषजनक नभएमा वा दरबन्दी नरहेमा नवीकरण गरिने छैन । सरकारले सबै निकायमा एकरूपता कायम गर्न ‘सेवा करार सम्झौता पत्र’को आधिकारिक नमुना समेत तयार गरी परिपत्रसाथ संलग्न गरेर पठाएको छ ।