१४० दिनको आन्दोलनपछि सरकारसँग संवादमा दलित जेनजी एलायन्स

  • शुक्रबार​ २३ असो २०८३ १०:३१ PM
काठमाडौँ । दलित तथा उत्पीडित समुदायका हक-अधिकार र संवैधानिक व्यवस्थाको कार्यान्वयनको माग गर्दै १४० दिनदेखि आन्दोलनरत दलित जेनजी एलायन्सले सरकारसँगको संवादलाई अघि बढाउँदै माग कार्यान्वयनका लागि स्पष्ट समय सीमा निर्धारण गर्नुपर्नेमा जोड दिएको छ । एलायन्स र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीबिच शुक्रवार पहिलो चरणको छलफल सम्पन्न भएको छ । छलफलमा मन्त्री बादीको पहलमा दोस्रो चरणमा अन्तर मन्त्रालय संवाद अघि बढाउने र तेस्रो चरणमा एलायन्सले उठाएका माग कार्यान्वयनका लागि स्पष्ट समय सीमा निर्धारण गरेर अघि बढ्ने विषयमा प्रारम्भिक छलफल भएको एलायन्सले जनाएको छ । मन्त्री बादीसँगको छलफलमा दलित जेनजी अलायन्सका संयोजक जीवन तिरुवा, जेनजी अभियन्ता विवेक थापा, स्वतन्त्र दलित नागरिक समाजका संयोजक कर्णबहादुर विश्वकर्मा लगायत अलायन्सका सदस्यको सहभागिता थियो । मन्त्री बादीको पहलकदमीलाई सकारात्मक रूपमा लिएको जनाउँदै एलायन्सले सरकारसँगको संवादलाई उपलब्धिका रूपमा मात्र नहेरी माग कार्यान्वयनलाई आफ्नो मुख्य प्राथमिकता बनाएको स्पष्ट पारेको छ । एलायन्सले भनेको छ, ‘हाम्रो प्राथमिकता आश्वासन होइन, मागको कार्यान्वयन हो ।’ माग कार्यान्वयन नभएसम्म दलित आन्दोलन जारी रहने पनि उसले जनाएको छ । एलायन्सका अनुसार दसैँ-तिहार लगत्तै थप सशक्त र परिणाममुखी आन्दोलनको तयारी भइरहेको छ । सरकारसँगको संवादसँगै माग पूरा गराउन दबाब सिर्जना गर्ने रणनीति पनि अघि बढाइने एलायन्सले जनाएको छ । यसअघि बिहीबार एलायन्सले आफ्नो शान्तिपूर्ण सङ्घर्ष १४०औँ दिनमा प्रवेश गरेको जानकारी दिँदै सरकार पक्षबाट आएको सकारात्मक प्रतिक्रियालाई ध्यानमा राखेर सो दिनको कार्यक्रम फरक ढङ्गले समापन गरेको जनाएको थियो । एलायन्सले १४० दिनदेखि जारी सङ्घर्षप्रति माया, भरोसा, सल्लाह, सुझाव, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै सरकारको ध्यानाकर्षण र आगामी कदमबारे गम्भीर छलफल गरिएको जनाएको थियो । आन्दोलनका उपलब्धि र आगामी कदमबारे केही दिनमै जानकारी गराउने बताएको एलायन्सले अहिले सरकारसँगको संवादलाई अगाडि बढाएको हो । एलायन्सले दलित तथा उत्पीडित समुदायका हक-अधिकार सुनिश्चित गर्न र संविधानमा व्यवस्था गरिएका अधिकारको कार्यान्वयन गराउन आन्दोलन सुरु गरेको जनाएको छ । सरकारसँगको पछिल्लो संवादले माग सम्बोधनका लागि औपचारिक छलफलको बाटो खोले पनि एलायन्सले भने आश्वासनमा मात्र आन्दोलन रोक्ने सङ्केत गरेको छैन । मन्त्री स्तरीय छलफलपछि अन्तर मन्त्रालय संवाद र त्यसपछि माग कार्यान्वयनका लागि समय सीमा निर्धारण गर्ने विषयमा भएको प्रारम्भिक सहमतिले सरकार र आन्दोलनरत पक्षबिचको संवादलाई नयाँ चरणमा प्रवेश गराएको छ । तर एलायन्सले आगामी दिनमा संवादको परिणामलाई माग कार्यान्वयनसँग जोडेर हेर्ने स्पष्ट सङ्केत गरेको छ ।