ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायमैत्री कानुन निर्माण र नीतिगत सुधारमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको आज आयोजित ४७औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सरकारसँग व्यवसायमैत्री कानुन निर्माण र नीतिगत सुधारका विषयमा महासङ्घले निरन्तर संवाद गरिरहेको जानकारी बताए । अध्यक्ष श्रेष्ठले व्यवसायसँग सम्बन्धित कानुन तथा अध्यादेशमा सुधारका लागि सुझाव दिइएको र हालै ३६ बुँदे सुझावपत्र सरकारसमक्ष पेस गरिएकोसमेत जानकारी दिए । उनले भने, “नीति निर्माण र कानुनी सुधारका छलफलमा निजी क्षेत्रलाई औपचारिक उपस्थितिमा मात्रै सीमित गर्नु हुँदैन, निजी क्षेत्रलाई केवल साक्षीका रूपमा होइन, मुख्य सरोकारवालाका रूपमा सहभागी गराइनुपर्छ, प्रधानमन्त्री कार्यालयसँग लगानी प्रवर्द्धनसम्बन्धी अवधारणामा काम भइरहेको छ, अर्थमन्त्रीबाट १६ वटा ऐन सुधारको काम भएको छ ।” उनले युवा उद्यमी तथा स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्न सरकारले ल्याएका सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । नवीन उद्यमीको पहिचान र कर्जा प्राप्त गर्ने प्रक्रियामा देखिएका अस्पष्टता हटाउनुपर्ने उनको भनाइ थियो । ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरपालिकाले ललितपुर उद्योग वाणिज्य सङ्घसँग समन्वय र सहकार्यमा उद्योगी व्यवसायीका हितमा काम गर्दै आएकाले आगामी दिनमा प्रभावकारी समन्वय र सहकार्य जारी रहने प्रतिबद्धता जनाइन् । ललितपुरमा प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले उद्योग व्यवसायलाई प्रविधिमैत्री बनाउन आग्रह गर्दै विदेशी लगानी भित्र्याउनसमेत आग्रह गरे । सङ्घका अध्यक्ष विश्वराज बज्राचार्यले विपद्बाट व्यवसायमा हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारीमा लगानी बढाउनुपर्ने र नीतिगत सुधारका क्रममा निजी क्षेत्रलाई मुख्य सरोकारवालाका रूपमा सहभागी गराउनुपर्नेमा जोड दिए । साधारणसभाले सङ्घको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुसन महर्जन र महासचिव भूमि नन्दन कर्माचार्य चुनावी प्रतिस्पर्धामा छन् ।