दाङ । यस वर्षको विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घले पत्रकारको निशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । सङ्घद्वारा सञ्चालित राप्ती आँखा अस्पताल रक्षाचौरको आयोजना र नेपाल पत्रकार महासङ्घ दाङ शाखाको समन्वयमा पत्रकारहरूको निःशुल्क आँखा चेकजाँच गरिएको हो । नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, राष्ट्रिय समाचार समिति (रासस) दाङकी प्रमुख नारायणी रजौरेसहित जिल्लामा क्रियाशील २५ जना पत्रकारको आँखा परीक्षण गरिएको अस्पतालका सूचना अधिकारी वालाराम खड्काले जानकारी दिए । उनका अनुसार परीक्षणक क्रममा आँखामा आवश्यक देखिएका पत्रकारलाई निःशुल्क चस्मा तथा औषधिसमेत वितरण गरिएको छ । सह प्राडा रञ्जितकुमार शाहले पत्रकारिता पेसामा लामो समयसम्म कम्प्युटर, मोबाइल तथा अन्य डिजिटल उपकरणको प्रयोग गर्नुपर्ने भएकाले आँखाको स्वास्थ्यमा विशेष ध्यान पत्रकारलाई सल्लाह दिए । उनले नियमित आँखा परीक्षण गर्ने बानीको विकाससँगै समयमै आँखासम्बन्धी समस्या पहिचान र उपचारमा सहयोग पुग्ने समेत बताए । यसअघि आज विश्व दृष्टि दिवसका अवसरमा ‘आँखा स्वास्थ्य सेवामा पहुँच विस्तारमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम पनि राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुरमा सम्पन्न भएको छ । आँखा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, आँखाका समस्या तथा रोगको समयमै पहिचान र उपचारका लागि सर्वसाधारणलाई सचेत बनाउने तथा गुणस्तरीय आँखा स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । आँखाको स्वास्थ्य सेवामा पहुँच विस्तार तथा दृष्टिविहीनता न्यूनीकरणका लागि सञ्चारकर्मीले जनचेतना अभिवृद्धिसँगै राज्यका सम्बन्धित निकायलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । कार्यक्रममा अस्पतालका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले प्रस्तुत गर्नुभएको तथ्याङ्कअनुसार सबैभन्दा बढी दृष्टिविहीनको सङ्ख्या लुम्बिनी प्रदेशमा रहेको छ । कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घ दाङका अध्यक्ष कृष्णकुमार गिरीले आँखासम्बन्धी धेरै समस्या समयमै पहिचान र उपचार गर्न सके दृष्टिविहीनता न्यूनीकरण गर्न सकिने बताए । उनले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म आँखा स्वास्थ्य सेवा पुर्याउन स्थानीय सरकार, स्वास्थ्य संस्था, गैरसरकारी संस्था र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा सहभागी नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुवेदी, राससकी रजौरे, पत्रकार सुशील बस्नेतलगायतले आँखा स्वास्थ्यसम्बन्धी सचेतना र सेवाको अवस्थालाई समाचार, रेडियो कार्यक्रम, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जालमार्फत समुदायसम्म पुर्याउन सके सर्वसाधारणमा समयमै उपचार गर्ने व्यवहार विकास गर्न सकिने भनाइ राखेका थिए । सञ्चारकर्मीहरूले आँखा जाँच तथा उपचारका लागि उपलब्ध सेवाबारे सूचना प्रवाह गर्ने, सेवाबाट वञ्चित समुदायका समस्या उजागर गर्ने, निःशुल्क तथा सहुलियतपूर्ण आँखा उपचार सेवाको प्रचार गर्ने र सम्बन्धित निकायलाई सेवाको पहुँच विस्तारका लागि जवाफदेही बनाउने भूमिका निर्वाह गर्नुपर्नेमा उहाँहरूले जोड दिए ।