दशैंको टिकट बुकिङ खुल्यो : यसबर्ष काठमाडौं छाड्नेको संख्या कम हुनसक्ने, आवश्यक परे बस थपिने

  • शुक्रबार​ २३ असो २०८३ ०२:५५ PM
काठमाडौं । नेपालीको बडादशैंलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएपछि काउन्टरहरुमा यात्रुको लाइन देखिन थालेको छ ।नेपाल सरकारको निर्णय अनुसार नेपाल यातायात व्यवसायी विभागले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेलगत्तै काठमाडौंका वस पाकहरुमा टिकट बुकिङ गर्नेहरुको भीड देखिएको हो । गोंगबुस्थित नयाँ बसपार्कमा बिहान ६ बजेदेखि नै यात्रुहरूले निरन्तर टिकट काटिरहेका छन् । दसैँका लागि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्न थालेपनि अघिल्लो वर्षको तुलनामा यस वर्ष यात्रुको संख्या केही कम हुने अनुमान गरिएको छ । बसपार्कमा यात्रुको चाप रहेपनि विगतका वर्षहरुमा जस्तो भीड भने छैन् ।  पश्चिम नेपाल बस व्यवसायी प्रालि काठमाडौं शाखा इन्चार्ज डिल्लीराज भुसालले शुक्रबार कार्यालय खुल्ने दिन भएकाले यात्रुको चाप तुलनात्मक रूपमा कम देखिएको बताए । उनले शनिबार र आइतबार भने यात्रुको चाप अझ बढ्ने अनुमान गरिएको बताएका हुन् ।  उनले अघिल्लो वर्षको तुलनामा यस वर्ष यात्रुको संख्या कम हुने अनुमान गरे पनि पहिलो दिनमै यकिन तथ्यांक निकाल्न कठिन हुने बताए । आगामी दुई दिनमा यात्रुको वास्तविक चाप स्पष्ट हुने उनले बताए । उनले भने, ‘त्यस्तो धेरै चाप छैन । अफिसहरू खुल्ने दिन भएकाले पनि होला त्यस्तो चाप छैन । शनिबार र आइतबार चाप अझ बढ्छ जस्तो लाग्छ ।  अघिल्लो वर्षको तुलनामा यस वर्ष मान्छेहरू जानुहुन्छ जस्तो लागिरहेको छैन् । पहिलो दिनले ठ्याक्कै त्यो आँकडा निकाल्नलाई गाह्रो हुन्छ ।’ यात्रुहरूको सुविधाका लागि टिकट अनलाइन र बसपार्कबाट प्रत्यक्ष रूपमा लिन सकिने व्यवस्था गरिएको बताएका छन् । उनले अनलाइनबाट आधा र बसपार्कमा आएर आधा यात्रुले टिकट लिने गरी व्यवस्थापन गरिएको बताए । भुषालका अनुसार यात्रुको चापअनुसार तीनदेखि चार जना कर्मचारी परिचालन गरेर टिकट बिक्री भइरहेको छ । आवश्यकताअनुसार थप सवारीसाधनको व्यवस्था गरिँदै गएको र आगामी दिनमा पनि यात्रुको चाप हेरेर गाडी थपिने उनले बताए । उनले गोंगबु बसपार्कभित्र सवारीसाधनको अभाव नरहेको बताए । बसपार्कभित्र अनधिकृत रूपमा टिकट बिक्री गर्ने वा यात्रुलाई अन्यत्र पठाउने अवस्था नरहेको र प्रहरी प्रशासनको निगरानीसमेत कडा रहेको उनले बताए । यात्रुको चाप कुन रुटमा बढी छ भन्ने विषय शुक्रबारदेखि स्पष्ट हुँदै जाने र सोहीअनुसार सवारीसाधन थपेर यात्रुलाई सहज यात्रा गराउने उनले बताए । यसैगरी, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका दुर्घटना तथा डायल इन्चार्जले दसैँमा घर फर्किने यात्रुको चाप बढे पनि विगतका वर्षको तुलनामा यसपटक दाङतर्फको यातायात व्यवस्थापन केही सहज र व्यवस्थित भएको बताए । उनका अनुसार विगतका वर्षमा लामो समयसम्म सडक तथा यातायात व्यवस्थापनमा समस्या हुने गरेपनि यसपटक छोटो अवधिमा यात्रुको चाप बढेकाले केही भीडभाड भए पनि यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाइएको छ । उनले यात्रुलाई लाइनमा राख्न तथा व्यवस्थापनमा सहयोग पु¥याउन स्वयंसेवकसमेत परिचालन गरिएको बताए ।  लोत्से बहुउद्देश्यीय संस्थाका महाप्रबन्धक पंकज मल्लको निर्देशनअनुसार असोज २६ गतेदेखि दाङतर्फ जाने बसहरू दिउँसो १२ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।  उनले दसैँको अवसरमा टिकटको भाडा वृद्धि नगरिएको पनि बताए । राज्यले तोकेको भाडादरभन्दा बढी रकम नलिएको भन्दै उनले यात्रुसँग तोकिएकोभन्दा एक रुपैयाँ पनि बढी नलिन यातायात व्यवसायी प्रतिबद्ध रहेको बताए । केही साताअघि आएको बाढीपहिरो तथा वर्षाका कारण सडक अवरुद्ध हुने र गाडी काठमाडौंसम्म आइपुग्न नसक्ने अवस्था सिर्जना भएपछि यातायात सञ्चालनमा समस्या भएको उनले बताए । अहिले मौसम सफा भएसँगै सडक तथा यातायात सञ्चालनमा सुधार आएको उनले बताए । उनका अनुसार अहिले दाङबाट छुटेका गाडीहरू बिहान करिब ६ बजे काठमाडौं आइपुगिरहेका छन् भने काठमाडौंबाट छुटेका गाडीहरू पनि निर्धारित समयमा गन्तव्यतर्फ पुगिरहेका छन् । उनले बाढीपहिरोका कारण यसअघि भएको ढिलाइको मुख्य कारण सडकको अवस्था रहेको बताए । यात्रुको चापलाई ध्यानमा राखेर तत्काल नयाँ गाडीको ‘क्यु’ थप नगरिएको भए पनि आवश्यकता परे थप बस सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए । यात्रुको चाप अत्यधिक बढेमा संस्थाका पदाधिकारीसँग समन्वय गरी थप बस सञ्चालन गरिने उनले बताए । के भन्छन् यात्रुहरु