काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले मुगुका दलित समुदायका विपन्न २० जना बालिकालाई रु १० हजारका दरले रु दुई लाखको छात्रवृत्ति प्रदान गरेको छ । दश विद्यालयका विपन्न दलित विद्यार्थीलाई रु १० हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो । गमगढीमा सम्पन्न शान्ति समाज मुगु शाखाको जिल्ला साधारण सभामा वर्ष २०८३ को छात्रवृत्ति वितरण गरिएको समाजका उपनिर्देशक सरिता पौडेलले जानकारी दिइन् । मुगु शाखा सभापति चित्रबहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका महासचिव प्रकाश शाही, सुर्खेत शाखा सभापति एसआर पाण्डे, सचिव रेशमबहादुर भण्डारीलगायतले शान्ति समाजको जलवायु न्याय र सद्भाव प्रवर्द्धन अभियानबारे प्रकाश पारेका थिए । शान्ति समाजले २०८० सालदेखि लगातार तीन वर्षसम्म ‘छोरी पढाऔँः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित कर्णालीका बालिकाहरूलाई रु २७ लाख ९६ हजारको छात्रवृत्ति प्रदान गरेको थियो । सोही कार्यलाई निरन्तरता दिन २०८२ सालमा समाजले स्थापना गरेको अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट विकट कर्णालीका २० जना बालिकालाई यस वर्षको छात्रवृत्ति प्रदान गरिएको हो । अक्षयकोषमा समाजका महासचिव प्रकाश शाहीबाट रु चार लाख, पूर्ववरिष्ठ उपसभापति कृष्णबहादुर रावलबाट रु तीन लाख, निवर्तमान सभापति रामकृष्ण बरालबाट रु दुई लाख, पूर्वसभापति होमकान्त चौलागाईबाट रु दुई लाख, शैशव खनालका अभिभावकबाट रु दुई लाख, आर्या पाण्डेका अभिभावकबाट रु दुई लाख, सभापति रेनुका पौडेलबाट रु एक लाख, संस्थापक सदस्य कृष्ण कँडेलबाट रु एक लाख, सल्लाहकार रामप्रसाद जोशीबाट रु एक लाख, केन्द्रीय सदस्य मणिराम दाहालबाट रु एक लाख गरी रु १९ लाख जम्मा भइसकेको छ ।