चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

आइतबार सिंहदरबारमा आफ्नो आसन्न चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू लगायतसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताएका हुन् ।

भ्रमणका बिषयमा आएका सुझावहरुले आफ्नो भ्रमण प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ । सरकारले दुबै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्टाउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए ।

त्यस्तै प्रधानमन्त्रीले कुटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसंघको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको भन्दै भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रित रहेर छलफल हुने बताएका परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

उनले प्रधानमन्त्रीले सल्लाह सुझावलाई महत्वपूर्ण रुपमा लिएको बताउनुभएको उल्लेख गरे ।