सेयर बजारमा २३ अंकको वृद्धि, ५ अर्बमाथिको कारोबार

काठमाडौँ । सेयर कारोबार साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा अडिएको छ ।

सेन्सेटिभ इण्डेक्स १.२६ प्रतिशतले बढेर ३८५.७५ विन्दुमा पुगेको छ । यसदिन ३२२ स्क्रिप्सको १ करोड ५२ लाख २९ हजार ६ हजार ७३९ कित्ता सेयर ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँमा कारोबार भए ।

दोहोरो अंकले बढेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । बलेफी हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले वृद्धि भएको हो ।

बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए । सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो । समाज लघुवित्त वित्तीय संस्थाको सेयर ९.८८ प्रतिशतले घट्यो । यसदिन हाथवे इन्भेष्टमेन्ट नेपाल १५ करोड बढिको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो ।

जानकी फाइनान्सको १४ करोड, एनआरएन ११ करोड,सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९ करोड र नगदी ग्रुपको ८ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

यसदिन डेभलपमेन्ट बैंकबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन् । कारोबारमा आएकामध्ये १९४ स्टकको मूल्य बढ्दा ४६ वटाको घट्यो । पाँच वटा समूहको उपसूचक भने स्थिर रह्यो ।