६१ किलो सुन प्रकरणमा १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश  

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ६१ किलो सुन तस्करी प्रकरणको पुरक मुद्दामा १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। आरोपी तीन जनासँग भने धरौटी माग गरिएको छ।

अदालतका न्यायधीश कपिलमणि गौतमको इजलासले एक साता लामो बहसपछि आज थुनछेक आदेश दिएको हो।

इजलासले १७ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको हो भने प्रतिवादी राजु थापा भनिने प्रेमनाथ सेढाईँसँग ५७ लाख, थर्कमान लामा र रुपन भण्डारीसँग जनही ९६ लाख रुपैयाँ धरौटी माग गरेको अदालतका प्रवक्ता मेलिस बास्कोटाले थाहाखबरलाई बताए।

उनका अनुसार धरौटी माग गरिएका तीनै जनाले आज धरौटी रकम बुझाएका छैनन्। सुन प्रकरणको दोस्रो चरणमा ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। जसमध्ये केही पहिलो चरणमै पक्राउ परेर पुर्पक्षका लागि कारागारमा गइसकेका छन्।

आरोपी २६ जना भने अझै फरारको सूचीमा छन्। उनीहरु विरुद्ध २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगो दावी गरिएको छ।