कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

  • बिहीबार २२ असो २०८३ ०५:०१ PM
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि पेस भएको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सो विधेयक सदनमा दफावार छलफलका लागि पेस गरेका हुन् । सदनमा कोशी प्रदेशसभा नियमावली मस्यौदा समितिको गठन सम्बन्धमा उपसभामुख सृजना दनुवारले प्रस्ताव पेस गरिन् । प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले सदनको शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै १०औँ राष्ट्रिय खेलकुदका निम्ति प्रदेश सरकारले रु आठ करोड बजेट विनियोजन गरेको जानकारी दिइन् । उनले खेलकुदका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई सरकारले भत्ता पनि दिने जानकारी दिइन् । उनले ‘ग्राम थान’ थान संस्कृतिसम्बन्धी विधेयक ल्याउन सरकारले आवश्यक तयारी गरिहेको बताउँदै १०औँ राष्ट्रिय खेलकुदका लागि प्रदेशमा ५२ प्रकारका खेलकुद प्रतियोगिता आयोजन हुने जानकारी दिइन् । यसअघि आजको सदनको शून्य समयमा प्रदेशसभाका सदस्य खगेश्वरी पौडेल, मीना श्रेष्ठ, यशोदा कायस्त, राजेन्द्र कार्की, तारादेवी ढकाल, रोहितबहादुर कार्की र रेवतीरमण भण्डारीले विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।