‘पत्रकारिता निष्पक्ष हुनुपर्छ, सामाजिक सद्भाव कायम गर्न लाग्नुपर्छ’

  • बिहीबार २२ असो २०८३ ०३:५९ PM
जनकपुरधाम । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले निष्पक्षतालाई प्रवर्द्धन गर्दै सामाजिक सद्भाव कायम गर्न पत्रकारिता क्षेत्र प्रतिबद्ध हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ धनुषाको १४औँ साधारणसभाको आज जनकपुरधाममा उद्घाटन गर्दै सभामुख यादवले पत्रकारिताको मर्यादा कायम राख्न सञ्चारकर्मीले अध्ययनशील भएर सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । “पत्रकारिता पक्ष वा विपक्षमा नभई निष्पक्ष हुनुपर्छ,” सभामुख यादवले भने, “तब मात्र पत्रकारिताप्रति समाजको विश्वास अझ बढ्छ ।”  सभामुख यादवले ‘डिजिटल’ माध्यमको विस्तारसँगै पत्रकारितामा नयाँ चुनौती थपिएको उल्लेख गर्दै व्यक्ति हितभन्दा सामाजिक हितलाई केन्द्रमा राखेर पत्रकारिता गर्न आग्रह गरे । उनले सीमान्तकृत तथा पछाडि पारिएका समुदायका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरे । उनले सङ्घीयता खर्चिलो भएको भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै वित्तीय सङ्घीयता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको बताए ।  नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले महासङ्घ इतिहासकै कठिन अवस्थामा रहेको बताइन् । संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरे पनि त्यसको संरक्षणका लागि पत्रकार एकजुट हुनुपर्ने उनले बताइन् । महासङ्घका पूर्वअध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारितामा भएको डिजिटलीकरणले चुनौतीसँगै अवसर पनि थपेको बताए । समयानुकूल पत्रकारलाई प्रशिक्षित गर्दै अघि बढाउनुपर्ने उनले बताए । महासङ्घका महासचिव रामप्रसाद दाहालले सरकारले ल्याउन लागेको कतिपय कानुन प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने खालको रहेको बताए । पत्रकारिता कमजोर हुँदा नागरिकको आवाजसमेत कमजोर हुने उल्लेख गर्दै उनले सञ्चारमाध्यम संरक्षणका लागि राज्यले उपयुक्त नीति ल्याउनुपर्ने बताए । महोत्तरीको मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले पत्रकारितामा बढ्दै गएको विकृति रोक्न महासङ्घको नेतृत्व गम्भीर हुनुपर्ने बताए । आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले पत्रकारिताको विकासप्रति सरकार गम्भीर बन्न नसकेको बताए । सञ्चारमाध्यमका लागि विनियोजित बजेट न्यून रहेको र त्यसमाथि पनि कटौती गर्ने प्रयास भइरहेको उनको भनाइ थियो । कार्यक्रममा महावीर युवा क्लब जनकपुरधामद्वारा स्थापित सहिद पत्रकार उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार रिङ्कुकुमारी मिश्र ‘गायत्री’लाई प्रदान गरिएको थियो ।