सरकारी स्कुलहरुलाई ७ दिनभित्र सटर खाली गर्न कामपाको अल्टिमेटम                           

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सामुदायिक (सरकारी) विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिनभित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ। 

सोमवार महानगरपालिकाले बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयलगायतका सरकारी विद्यालयहरुले भाडामा दिएका सटरहरु खाली गराउन निर्देशन दिएको हो।

सात दिनभित्र व्यावसायिक प्रयोजनका सटरहरु खाली नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ।

अनुगमनका क्रममा काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौँ महानगरपालिका सरकारी विद्यालयहरुमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताए।

उनले महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको बताए। सरकारी विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरुलाई कक्षा कोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीहरुका लागि नै प्रयोजन गर्ने हेतु यो नीति लिएको बताए।

‘काठमाडौँ महानगरपालिकाको एउटा नीति छ, विद्यालयहरुमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने जुन चलिरहेको छ, ३७ वटा स्कुलमा त्यस्तो देखिएको छ। अहिले महानगरको नीतिअनुसार त्यो भाडामा लगाएको सटर खाली गर्ने र सरकारी विद्यालयमा विद्यार्थीको चाप एकदमै बढ्दो छ‚’ उनले भने, ‘ती कक्षाकोठामा विद्यार्थी खचाखच छन्। उनीहरुको बसाई र खेल्ने ठाउँ व्यवस्थापनको लागि ३७ विद्यालयमा हिजोदेखि क्रमशः बन्द गर्दै हिँडेका छौँ। ७ दिनको म्याद दिएका छौँ सामान सार्न। विद्यालयको सम्पत्ति बालबालिकाको अधिकतम हितमा प्रयोग हुनुपर्ने भएकाले सोहीअनुसार अघि बढेको हो।’

महानगरले आइतवार यो अभियान अघि बढाएको हो। यो अभियानले साँघुरो भएका विद्यालयहरुलाई खेल स्थानको व्यवस्थापन र कक्षा कोठा विस्तार गर्न सहयोग पुग्ने बताइएको छ।