सूर्यदर्शन सहकारीबाट रवि लामिछाने आफैँले एक करोड लगेको प्रमाण भेटियो

काठमाडौँ -  सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफैँले माग फारम भरेर एक करोड रुपैयाँ ऋण लगेको खुलासा भएको छ । पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिले उक्त विषयको खुलासा गरेको हो । 

छानबिन समितिका अनुसार ग्यालेक्सी टेलिभिजनका सेयरधनी एवं प्रबन्ध निर्देशक रहेका बेला लामिछानेले उक्त ऋण माग गरेको फारम भेटिएको छ । लामिछानेले एक करोड रूपैयाँ ऋण पाऊँ भनेर सहकारीमा ऋण माग गरेको फारम भरेको देखिएको र सो माग फारममा उनको हस्ताक्षर पनि रहेको छानबिनका क्रममा भेटिएको हो । सो प्रमाण समितिले आफ्नो प्रतिबेदनमा पनि पेस गरेको छ । 

गृहमन्त्री लामिछानेले भने अहिलेसम्म आफूले कुनै पनि सहकारी संस्थामा निवेदन दिएर वा माग फारम भरेर ऋण नलिएको बताउँदै आएका छन्। तर, छानबिनका क्रममा सो ऋण गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र पछि लामिछानेले गोर्खा मिडिया नेटवर्कबाट सहकारीमा सो ऋण तिरेको पनि देखिएको छ ।

झन्डै साढे तीन महिना लगाएर बनाइएको तीन हजार ४१९ पृष्ठको प्रतिवेदन बिहीबार कास्की प्रहरीलाई बुझाइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तृत प्रतिवेदनका नौवटै ठेली कास्की प्रहरीका डीएसपी वसन्त शर्मालाई हस्तान्तरण गरेका हुन् ।