कांग्रेस रणनीति : शीर्ष नेतालाई बोल्न दिने, छानविन समिति नबनाए अवरोध !

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक सकिएको छ । प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भएको छ ।

कांग्रेसका एक सांसदका अनुसार दलीय रूपमा बोल्दा कांग्रेसको तर्फबाट रामहरि खतिवडा बोल्ने छन् । त्यसपछि दलीय रूपमा लामिछानेलाई पनि बोल्न दिने रणनीति कांग्रेसले बनाएको छ । तर, लामिछानेले बोलेको सुनेपछि कांग्रेसले ‘ढ्याप–ढ्याप’ पार्ने भएको छ । त्यसपछि महामन्त्री गगन थापाले रवि लामिछानेलाई जवाफ फर्काउने रणनीति तय गरिएको ती सांसदले जानकारी दिएका छन् ।

कांग्रेसले सहकारीको रकम घोटालाको छानबिनका लागि संसदीय छानबिन समिति बनाउनु पर्ने अडान कायमै राखेको छ । समिति बनाउन तयार नभए संसद चल्न नदिने कांग्रेसको रणनीति छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउनु पर्ने आफ्नो माग यथावत रहेको जानकारी दिएका छन् । अन्य प्रमाणले पनि कांग्रेसको माग सही छ भन्ने देखाएको उनको भनाइ छ ।