दाङमा जस्ले आफ्नै बुहारीको कन्यादान गरिदिए…

दाङ - दाङको तुलसीपुरमा सासु ससुराले बुहारीको विवाह गराइदिएका छन ।

बिहीबार तुलसीपुर उपमहानगरपालिका ६ शिखर काेलाेनी निवासी शिव श्रेष्ठ र बिना श्रेष्ठले आफ्नो एकल बुहारी आरती श्रेष्ठको बर्दघाट नगरपालिका वडा नं. ५ पालडाँडा निवासी चन्दन ध्वज केसीसगं विवाह गरिदिएका हुन् ।

शिव श्रेष्ठका छोरा सुविन श्रेष्ठको २०७४ साल कात्तिक ५ गते ३३ वर्षको उमेरमा (क्यान्सर रोग)को उपचारको क्रममा निधन भएको थियो । छोराको मृत्युपछि एक्लिएकी बुहारीलाई छोरीको रुपमा लिएका थिए ।

३० वर्षीय आरती सासु बिना र ससुरा शिव श्रेष्ठसगं तुलसीपुरमा बस्दै आएकी थिइन । छोरी आरतीको सुन्दर भविष्यको कामना गर्दै कन्यादान गरि विवाह गराइदिएको शिव श्रेष्ठले बताए ।

‘छोराछोरी नभई विधवा भएपछि अलपत्र परेका धेरैका छोरी छन्,श्रेष्ठले भने,‘घर माइतीले उनका समस्या नबुझेर जिन्दगी भर दुःख पाएका पनि छन्,तर हामीले बुहारी पनि छोरी सरह हुन, हामीले छोरीको भविष्यका लागि घर पक्ष र माइतीका सबैको सल्लाहले विवाह गरिदियौं ।’