काठमाडौँ । नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्य तथा १४औँ महाधिवेशनकी महासमिति सदस्य मैना विकले नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाकी उपप्रमुखसमेत रहेकी विकले केन्द्रीय सदस्यमा दलित महिलातर्फ उम्मेदवारी दिएकी हुन् । करिब दुई दशकदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय विकले क्षेत्रीय, प्रदेश तथा केन्द्रीय महाधिवेशनमा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी छन् । आफ्नो उम्मेदवारी काङ्ग्रेसभित्र समावेशी नेतृत्व, समान अवसर र समृद्ध नेपाल निर्माणका लागि रहेको विकले बताएकी छन् । विकको राजनीतिक यात्रा २०५७-५८ सालमा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएसँगै सुरु भएको हो । त्यसपछि उनी पार्टीको सङ्गठनमा निरन्तर सक्रिय रहँदै आएकी छन् । २०६२ सालको १२औँ महाधिवेशनमा क्षेत्रीय सदस्य बनेकी विक १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएकी थिइन् । १४औँ महाधिवेशनमा उनी महासमिति सदस्य तथा कर्णाली प्रदेश सदस्य बनेकी थिइन् । सङ्गठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी विक २०७१ सालमा सुर्खेत जिल्ला महिला सङ्घको कोषाध्यक्ष बनेकी थिइन् । त्यसपछि २०७४ सालको स्थानीय तह निर्वाचनमा गुर्भाकोट नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि उनी गुर्भाकोट नगरपालिकाको उपप्रमुखमा पुनः निर्वाचित भएकी छन् । विक १५औँ महाधिवेशनकी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यसमेत हुन् । लामो समयदेखि पार्टीको सङ्गठनमा सक्रिय रहनुका साथै स्थानीय तहको नेतृत्वमा समेत काम गरेको अनुभवलाई आधार बनाएर उनले केन्द्रीय सदस्यमा दलित महिलातर्फ आफ्नो उम्मेदवारी अघि सारेकी हुन् । उनको उम्मेदवारीलाई काङ्ग्रेसभित्र दलित महिलाको प्रतिनिधित्व र समावेशी नेतृत्वको सवालसँग जोडेर हेरिएको छ ।