उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाण्डौँ - निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बाहेकको उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । 

आयोगको शुक्रबार बसेको बैठकले दलित, आदिवासी जनजाति, मधेशी, थारु वा मुस्लिम महिलाको मात्रै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको हो । राष्ट्रपतिमा खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएपछि फरक लिंग र समुदायको उम्मेदवार बनाउने निर्देशन दिएको आयोगले जनाएको छ ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने प्रावधान छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्छन्, “हामीले संविधानको सकारात्मक व्याख्या गर्ने हो, संविधानको मर्म पुरुष राष्ट्रपति भएपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने हो र फरक समुदायको ।”
यसपटक खस आर्य महिला पनि उपराष्ट्रपतिको उम्मेदवार बन्न नमिल्ने एक आयुक्तले जानकारी दिए ।