सुन्दरीजल पुगेर बिरुवा रोप्दै राष्ट्रपति पौडेलले भने -‘किसानको छोरा हुँ सबैको सम्मान गर्न जान्दछु’

काठमाडौँ - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफू राजनीतिक व्यक्तिसँगै साधारण किसान परिवारको छोरासमेत भएकोले संविधानको मर्म र भावनासँगै सबैको रक्षक बन्ने कुरामा दृढ रहेको बताएका छन् । 

राष्ट्रपति निर्वाचित भएको भोलिपल्ट काठमाडौंको गोकर्णेश्वर स्थित सुन्दरीजल बीपी संग्रहालयमा पुगेर राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन् ।
‘म गाउँको किसानको छोरा हुँ । राजनीति पनि बुझेको छु र संविधानको रक्षा गर्न र कसलाई कस्तो सम्मान गर्नुपर्दछ भन्ने पनि जान्दछु’ उनले भने–‘कसैको चित्त नदुख्ने गरी र भावनामा ठेस नपुग्ने गरी देश, जनता र राजनीतिक दलप्रति म समान व्यवहार गर्न प्रतिबद्ध छु।’