काठमाडौँ । सरकारले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सहसचिव चक्रबहादुर बुढालाई सचिवमा बढुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवाका सहसचिव बुढालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । सचिवमा बढुवासँगै उनलाई राष्ट्रिय सतर्कता केन्द्रमा पदस्थापन गरिएको छ । लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले ज्येष्ठताका आधारमा बुढाको एकल नाम सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । बुढालाई राष्ट्रिय सतर्कता केन्द्रमा पदस्थापन गरिएसँगै त्यहाँ कार्यरत सचिव भूपाल बरालको राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । बराल केही दिनअघि मात्रै प्रदेश प्रमुख सचिवको जिम्मेवारीबाट सरुवा भएर राष्ट्रिय सतर्कता केन्द्रमा आएका थिए । राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ अवकाशमा गएपछि आयोगमा सचिव पद रिक्त थियो । त्यसपछि सरकारले बराललाई योजना आयोगमा सरुवा गरेको हो ।