झापा प्रशासन र यातायात व्यवसायीबीच जेन–जी घाइतेलाई ५० प्रतिशत छुट दिने समझदारी

  • बुधबार २१ असो २०८३ ०७:३३ PM
झापा । झापामा जेनजी आन्दोलनका घाइतेलाई जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट दिने समझदारी भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको पहलमा आज भएको छलफलमा यातायात व्यवसायीका प्रतिनिधिले प्रशासनद्वारा जारी वर्गीकृत परिचयपत्रका आधारमा जेनजी घाइतेलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता जनाएका हुन् । नेपाल सरकारले गत असार १८ गते स्वीकृत गरेको ‘जेनजी सहिद परिवार तथा घाइतेहरूको पुनःस्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज’मा भएको व्यवस्थाअनुसार छुटको कार्यान्वयनका लागि प्रशासन र यातायात व्यवसायीबीच समझदारी भएको हो । उक्त प्याकेजको बुँदा नं ८ मा अति गम्भीरदेखि गम्भीर वर्गीकरणमा परेका घाइतेलाई सार्वजनिक यातायातका साधनमा ५० प्रतिशत छुट तथा सिट आरक्षणको व्यवस्था मिलाउने उल्लेख छ । जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सरकारी प्याकेजमा भएका व्यवस्थालाई स्थानीयस्तरमा प्रभावकारीरूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायबीच समन्वय गरिएको बताए । “घाइतेले पाउनुपर्ने सुविधालाई व्यवहारमै कार्यान्वयन गर्ने उद्देश्यले यातायात व्यवसायीसँग छलफल गरी छुटको व्यवस्था मिलाइएको हो,” उनले भने । उनका अनुसार एकीकृत प्याकेज कार्यान्वयनमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन प्रशासनले झापाका जेनजी सहिद परिवार तथा घाइतेको डिजिटल प्रोफाइलसमेत तयार गरेको छ । झापामा दुई जेनजी सहिद परिवार तथा प्रशासनबाट परिचयपत्र प्राप्त ३७ जना जेनजी घाइते रहेका छन् । यातायात व्यवसायीका प्रतिनिधिले एउटै सार्वजनिक यातायातका साधनमा अधिकतम दुई जना जेन्जी घाइतेलाई उनीहरूको वर्गीकृत परिचयपत्रका आधारमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता व्यक्त गरेका छन् । छुट प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको परिचयपत्र देखाउनुपर्नेछ ।