काठमाडौं । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्। कांग्रेस महाधिवेशनमा बोल्दै आङदेम्बेले मुलुकलाई जुनसुकै बेला ‘युक्रेन’ बनाउन सक्ने अवस्था आउन सक्ने भन्दै पार्टी टुट्न र फुट्न नहुने धारणा राखे ।‘मुलुकलाई कुन बेला युक्रेन बनाउँछन् थाहा छैन, त्यसैले नेपाली कांग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन,’ उनले भने। उनले अहिले पार्टीभित्र नेतृत्वका लागि प्रतिस्पर्धाभन्दा नेतृत्वप्रति भरोसा गरेर अघि बढ्नुपर्ने बताए। १८ वर्षका युवादेखि ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकसम्मले नेतृत्वप्रति भरोसा गरेको उल्लेख गर्दै उनले पार्टीका नेताहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिए। आङदेम्बेले कांग्रेसलाई केवल सरकार बनाउने पार्टीका रूपमा सीमित गर्न नहुने बताए। उनका अनुसार कांग्रेसले विचार, सिद्धान्त र मुलुकको दीर्घकालीन दिशाका विषयमा बहस गर्नुपर्ने आवश्यकता छ। ‘कांग्रेस सरकार बनाउने पार्टी मात्र हो कि मुलुक बनाउने पार्टी हो भन्नेमा अब बहस हुनुपर्छ,’ उनले भने,’ पार्टीलाई सत्ता प्राप्त गर्ने माध्यम बनाइए फेरि पुरानै अवस्था पुगिन्छ’ सत्तामा जानकै लागि विभिन्न शक्ति र प्रवृत्तिसँग जोडिँदै जाँदा कांग्रेस आफ्नो विचार र सिद्धान्तबाट स्खलित भएको उनको भनाइ थियो। सत्ताप्राप्तिलाई मात्रै केन्द्रमा राख्दा पार्टी कमजोर हुने भन्दै उनले त्यसबाट पाठ सिक्नुपर्ने बताए। उनले कांग्रेसले अनुहार परिवर्तन मात्र नभई युगलाई दिशानिर्देश गर्ने राजनीतिक शक्ति बन्नुपर्ने धारणा राखे। ‘हामीले अनुहार परिवर्तन मात्र गर्ने होइन युगलाई दिशानिर्देश गर्नुपर्छ,’ उनले भने। देशको अवस्था र राष्ट्रिय मुद्दाप्रति कांग्रेस गम्भीर हुनुपर्ने उल्लेख गर्दै आङदेम्बेले राष्ट्रियता र मुलुकका समस्यासँग पार्टीको सम्बन्ध जोडिनुपर्ने बताए । उनले नेतृत्वले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा आफू प्रतिबद्ध रहेको पनि बताए। ‘सबैलाई समेटेर जाने कुरामा भीष्म आङदेम्बे छ,’ उनले भने। कांग्रेसको नेतृत्व र संगठनलाई बलियो बनाउन प्रत्येक जिल्लामा रहेका नेता–कार्यकर्तालाई एकताबद्ध गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो। पार्टीलाई सत्ता प्राप्त गर्ने माध्यम बनाइए फेरि पुरानै अवस्थामा फर्किने चेतावनीसमेत उनले दिए। आङदेम्बेले महाधिवेशनपछि कांग्रेस नयाँ ऊर्जा र विचारसहित अघि बढ्ने अपेक्षा व्यक्त गर्दै पार्टीलाई विचार र सिद्धान्तबाट विचलित हुन नदिन आग्रह गरे।