बाग्मतीमा पनि जनयुद्ध दिवसको बिदा

काठमाण्डौँ - बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आगामी फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ ।  यही माघ २४ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा प्रकाशित सूचनामा भनिएको छ,‘यही माघ २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सोमबारका दिन बाग्मती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सबैमा जानकारी गराइन्छ ।’ यसअघि कर्णाली प्रदेश सरकारले पनि जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।