फिल्म ‘चित्रा’ २७ गते देशभरि प्रदर्शनमा आउने

काठमाडौँ - नेपाली फिल्म ‘चित्रा’ यही पुस २७ गते देशभरिका सिनेमाहलमा प्रदर्शनमा आउने भएको छ ।

काठमाडौँमा सोमवार गरिएको फिल्मको प्रिमियर शोमा वरिष्ठ कलाकारको उपस्थिति रहेको थियो। ​प्रिमियरमा फिल्म पुस २७ गते देशभरि नै प्रदर्शनमा आउने बताइयो ।

फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ। यही फिल्मबाट सन्तोष अधिकारीले नेपाली रजतपटमा डेब्यु गरेका छन्। फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्। बाबुछोरीको कथा रहेको ‘चित्रा’मा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाशको साथमा अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेललगायत कलाकारको अभिनय छ । 

प्रिमियरपछि सञ्चारकर्मीसँग फिल्म विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म निकै उत्कृष्ट रहेको र सबैले हेर्नुपर्ने बताए। उनले नयाँ कलाकारको अभिनय जीवन्त रहेको बताए। अभिनेत्री दीपाश्री निरौलाले चलचित्रमा बाबुछोरीको कथा रहेको र चलचित्रमा जीवन्त अभिनय देख्न पाइने बताइन्।