काठमाडौँ । एक महिनासम्म कफी बनाउनेदेखि ग्राहक सेवासम्मका सीप सिकेका २० जना बहिरा युवा अब रोजगारी र स्वरोजगारको बाटोमा अघि बढ्ने तयारीमा छन् । पर्यटन तथा आतिथ्य क्षेत्रमा बहिरा युवाको सहभागिता बढाउने उद्देश्यले काठमाडौँमा सञ्चालन गरिएको एक महिने बारिस्टा तालिम बुधवार सम्पन्न भएको छ । तालिमपछि सहभागीलाई रोजगारीसँग जोड्नुका साथै इच्छुकलाई आफ्नै व्यवसाय सञ्चालन गर्नसमेत सहजीकरण गर्ने तयारी गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको सह-लगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाअन्तर्गत राष्ट्रिय बहिरा महासङ्घ नेपालको आयोजनामा गत भदौ ८ गतेदेखि तालिम सञ्चालन गरिएको थियो । काठमाडौँस्थित टिन टङ क्याफे एन्ड तालिम केन्द्रमा सञ्चालन भएको तालिममा २० जना बहिरा युवा-युवती सहभागी थिए । सहभागीलाई बारिस्टासम्बन्धी सीपसँगै कफी तथा अन्य पेय पदार्थ तयार गर्ने, कफी मेसिन तथा उपकरण सञ्चालन गर्ने, सरसफाइ कायम गर्ने, ग्राहक सेवा दिने र कार्यस्थलमा आवश्यक व्यावसायिक व्यवहारका विषयमा प्रशिक्षण दिइएको थियो । बहिरा सहभागीलाई तालिम लिन सहज होस् भनेर प्रशिक्षकसँगै नेपाली साङ्केतिक भाषा दोभासेको समेत व्यवस्था गरिएको थियो । तालिमबाट सहभागीले पहिलो पटक व्यावसायिक रूपमा कफी बनाउने सीप सिक्ने अवसर पाएको बताएका छन् । महिला प्रशिक्षार्थी अनु बराईले सुरुमा केही असहज भए पनि पछि तालिम प्रभावकारी रूपमा सिक्न पाएको बताइन् । 'एक महिना तालिम लियौँ । सुरुमा केही असहज भएको थियो । तर पछिल्लो समय एकदमै राम्रो सिक्न पायौँ । यसअघि यस्तो तालिम लिन पाएको थिएन । पहिलो पटक लिन पाएकोमा एकदमै खुसी लागेको छ,' उनले भनिन् । पुरुष प्रशिक्षार्थी देवेन्द्र धामीले पनि आफूले यसअघि यस्तो तालिम लिने अवसर नपाएको बताए । नाम आह्वान भएपछि एक महिना सिक्ने अवसर पाएको र दोभासेको सुविधाले तालिम लिन केही सहज भएको उनको भनाइ छ । तालिमपछि भने रोजगारीमा कसरी जोडिने भन्ने विषयमा महासङ्घले सहजीकरण गर्नुपर्ने उनले बताए । थप सीप सिक्न आफूहरू पनि इच्छुक रहेको उनको भनाइ छ । तालिमका प्रशिक्षक सुमन खड्काले सुरुमा सिकाउन र सिक्न केही असहज भए पनि सहभागीले राम्रो प्रगति गरेको बताए । धेरै सहभागीले कफी बनाउन सिकेको उल्लेख गर्दै उनले आगामी दिनमा सिक्दै र व्यवहारमा लागू गर्दै जानुपर्नेमा जोड दिए । 'काम पनि खोजेर जोडिनुहोला,' उनले सहभागीलाई आग्रह गरे । तालिम सञ्चालन भएको टिन टङ क्याफे एन्ड तालिम केन्द्रका सञ्चालक विजय कटवालले तालिमको समापनलाई सिकाइको अन्त्यका रूपमा नलिन सहभागीलाई आग्रह गरे । तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा उनले जोड दिए । काम गर्ने अवसर पाएका सहभागीलाई आवश्यक परे केही दिन थप सिकाउन आफूहरू तयार रहेको उनले बताए । उनका अनुसार रोजगारीका लागि कुनै क्याफेमा जानुअघि समेत आवश्यक अभ्यासका लागि सात दिनसम्म निःशुल्क सिकाउने व्यवस्था गर्न सकिन्छ । सहभागीले आफ्नै क्याफे सञ्चालन गर्न चाहेमा मेसिन तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापनमा समेत सहजीकरण गर्न सकिने कटवालले बताए । न्यूनतम लागतमा सामग्री उपलब्ध गराउने र कतिपय अवस्थामा निःशुल्कसमेत उपलब्ध गराउन सकिने उनको भनाइ छ । दिगो पर्यटन परियोजनाकी परियोजना सहायक मञ्जुला खत्रीले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा लागू गर्दै सहभागीले आफ्नो परिवारको आर्थिक उन्नतिमा समेत योगदान गर्ने अपेक्षा गरिएको बताइन् । आगामी दिनमा थप सहयोग आवश्यक परे सम्पर्क गर्न सकिने उनले बताइन् । राष्ट्रिय बहिरा महासङ्घ नेपालका महासचिव सिताराम ओझाले तालिमलाई बहिरा समुदायका लागि रोजगारी र आम्दानीको आधार तयार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएर सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । उनका अनुसार तालिम लिएर घरमै बस्दा सिकेको सीप बिर्सिन सकिने भएकाले सकेसम्म तालिमसँग सम्बन्धित काममा जोडिन आवश्यक छ । पर्यटन क्षेत्रका विभिन्न स्थानमा आफैँ व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्न सकिने सम्भावनासमेत रहेको उनले बताए । ओझाले यसअघि कोसी प्रदेशमा सञ्चालन गरिएको यस्तै तालिमबाट दुई जनाले क्याफे सञ्चालन गरेको र अन्य १० जना रोजगारीमा जोडिएको जानकारी दिए । 'पढाइ १२ कक्षा उत्तीर्ण गर्ने बित्तिकै जागिर पाइँदैन, तर सीप भएको अवस्थामा सजिलै काम गर्न र उद्यमी बन्न सकिन्छ,' उनले भने । बहिरा व्यक्तिले सञ्चालन गरेका क्याफेमा गएर सिकाइलाई थप व्यवहारिक बनाउन सकिने उल्लेख गर्दै उनले नेपालमा मात्र नभई विदेशमा समेत बहिरा व्यक्तिले व्यवसाय गरेर राम्रो गरेको उदाहरण रहेको बताए । महासङ्घले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा बहिरा समुदायलाई स्वरोजगार तथा रोजगारीसँग जोड्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिने महासङ्घको तयारी छ । महासचिव ओझाले बहिरा नागरिकलाई सीप सिकाएर स्वरोजगार बनाउने अभियानमा महासङ्घ निरन्तर लागिरहेको बताए । उनका अनुसार बहिरा व्यक्तिले आफ्नै व्यवसाय सञ्चालन गर्दा आयआर्जनको आधार तयार हुनुका साथै अन्य व्यक्तिका लागि पनि प्रेरणाको स्रोत बन्न सकिन्छ । समापन समारोहमा महासङ्घका महासचिव ओझाले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । क्याफे सञ्चालक विजय कटवालले सहभागीलाई उपहार स्वरूप क्याफेको कपसमेत प्रदान गरेका थिए । तालिम समापनसँगै सहभागीका लागि अबको चुनौती भनेको सिकेको सीपलाई रोजगारी वा आफ्नै व्यवसायसँग जोड्नु हो । आयोजक तथा प्रशिक्षकले त्यसका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।