केकमा गाँजा मिसाएर बेचेको आरोपमा  दुई जना पक्राउ

काठमाडौँ । केकमा गाँजा मिसाएर बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागु औषध ब्युरो कोटेश्वरबाट खटिएको टोलीले मंगलबार सोहखुट्टेबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ का २६ वर्षीय मोहमद फाजिल र दक्षिणकाली नगरपालिका-३ घर भई ललितपुर महानगरपालिका-१३ बस्ने २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन् ।

ललितपुर महानगरपालिका-१३ स्थित एकान्त कुनामा घर भाडामा लिई केक, कुकिज बनाएर इन्स्टाग्राम sweetbakery_np नामको अकाउन्ट बनाएर अनलाइन डेलिभरी गर्ने गरेको अनुसन्धानमा खुलेको एसपी चक्रराज जोशीले जानकारी दिए।

एसपी जोशीको अनुसार उक्त कोठाबाट १ केजी एक सय ग्राम गाँजा, डाँठसहित गाँजा १ केजी ५६८ ग्राम, बिक्री गर्न तयारी अवस्थामा राखेको केक १ केजी ९ सय ग्राम, माइक्रोओभन १ थान, तयारी अवस्थामा राखिएको बटर ९ सय ग्राम, चक्लेटको फ्लेभरलगायतका सामान पनि बरामद भएको छ।