नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता बन्द गरिने

काठमाडौं । गत पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता बन्द गरिने भएको छ ।

उक्त सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । विस्फोट गर्दा त्यहाँ पुलसमेत जोखिममा पर्ने भएकाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको  प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले  बताए ।

नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार हालसम्म १४ मिटर ढिस्को भत्काइसकिएको छ ।

त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटरमध्ये आधा ढिस्को शनिबारसम्म भत्काइसक्ने अनुमान छ ।