हिरासतमुक्तपछि आचार्य श्रीवास भन्छन्-'मैले गल्ती बोलें भन्दिनँ, तर आवाज चर्को भएकै हो'

काठमाडौँ - मेडिकल व्यावसायी तथा गणतन्त्रविरोध अभियान्ता दुर्गा प्रसाईंले आह्वान गरेको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका हिन्दू धर्मगुरु आचार्य श्रीनिवास ११ दिनपछि प्रहरी हिरासतबाट छुटेका छन् ।

छुटे लगत्तै फेसबुक लाइभमा आएर उनले आफूलाई हिरासतमा गुरुको मर्यादा दिएर सम्मानपूर्वक राखिएको भन्दै प्रशासनप्रति आभार प्रकट गरेका छन् । आन्दोलनमा आफूले बोलेको भाषा चर्को भएको भनेर प्राप्त सुझावहरुलाई मनन गरेको भन्दै उनले अबका दिनमा यसमा सुधार गर्ने तर हिन्दू राष्ट्रको अभियानबाट पछि नहट्ने अठोट व्यक्त गरेका छन् ।


म ११ दिनपछि आज छुटें । उहाँहरुले मलाई गुरुको हिसाबले सम्मानित ढंगबाट सुविधाहरु उपलब्ध गराउनु भयो । नजरबन्द होइन जस्तै गरेर राख्नु भयो । म यसका लागि कारागार प्रशासनलाई धन्यवाद दिन चाहन्छु । कतिपय भक्तजनले गुरुको स्वर अलि कडा भयो भन्नु भएको छ । त्यो सही पनि हो । म अलिकति चर्को आवाजमा प्रस्तुत भएकै हो । त्यो आवश्यक पनि थियो । चर्को आवाजमै बोल्नुपर्ने थियो । यद्यपि, मैले सुझावहरुलाई मनन गरेको छु । चर्को आवाजलाई नरम बनाउनेतर्फ ध्यान दिनेछु । तर, मेरो अभियानमा भने उत्तिकै समर्पित छु । यसबाट पछि हट्दिनँ ।