प्रधानमन्त्रीलाई मधेश प्रदेश सरकारको दिएको ६ बुँदे ध्यानाकर्षणमा के छ ? 

काठमाडौँ - मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राखि प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

संघीयता भएको ८ वर्ष भइसक्दासमेत प्रदेश सरकारले पाउने संवैधानिक अधिकार नपाएकाले यो ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताउनुभयो । उहाँले ३० दिनभित्र प्रदेशका माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिए । 

प्रदेश प्रहरी समायोजन सम्बन्ध, संघीय निजामति सेवा ऐनको सम्बन्धमा, सार्वजनिक जग्गाको प्रयोगको सम्बन्धमा, गुठी जग्गाको सम्बन्धमा, अर्थ सम्बन्धी समस्या सम्बन्धमा र अभियोजन सम्बन्धमा आधारित भइ ज्ञापन बुझाएको उनको भनाइ छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मागहरु जायज भएको र ३० दिनभित्र सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।