आजको शेयर बजार पनि राताम्मे : नेप्से १२.५८ अङ्कले घट्यो, कारोवार रकम कति ? 

काठमाण्डौँ - राष्ट्रबैंकले सेयरबजारसँग सम्बन्धित सेयर धितो कर्जा लगायत विषय समेटेर क,ख र ग वर्गका इजाजतप्राप्त संस्थाका लागि एकीकृत निर्देशन ल्याएपछि शुरु भएको नेप्सेको गिरावट आज पनि जारी नै रहेको छ ।

आइतबार ३५ अङ्कको गिरावट भोगेको बजार सोमबार थप १२.५८ अङ्कले घटेर १९०८.६६ अङ्कमा बन्द भएको छ । आज दिउँसो एकैछिन सम्हालिएर १९२६ अङ्कसम्म पुगेपनि त्यसपछी बजार लगातार घटेको थियो । अघिल्लो कारोबारको दिन कुल एक अर्ब ८० करोड १७ लाख ६६ हजार दुई सय ९४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर एक अर्ब १७ करोड १ लाख ७२ हजार सात सय २२ रुपैयाँमा सीमित हुन पुगेको छ ।