राजदुत नियुक्तिलाई समावेशी बनाइने परराष्ट्रमन्त्री राणाको प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले राजदुत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाएकी छन्।

सोमबारको संसदीय सुनुवाई समितिको बैठकमा उनले यस्तो बताएकी हुन्। समितिको बैठकमा सांसदहरुले सरकारले विभिन्न १७ देशका लागि गरेको राजदूत नियुक्ति समावेशी नभएको प्रश्न उठाएपछि मन्त्री राणाले आगामी दिनमा समावेशी बनाउने गरी सरकारले सिफारिस गर्ने प्रतिबद्धता जनाइन्।

उनले आफूले पनि हुनुपर्ने जति समावेशी र समानुपातिक नभएको महशुस गरेको बताइन्। उनले सरकारले गरेका कामहरुमा समितिले सुझाव दिएपछि नै सरकारले सच्चिने अवसर पाउने बताइन्। उनले राजदूत सिफारिसका लागि आफूले मुस्लिम र दलित समुदायको प्रतिनिधित्व खोजेको भए पनि सोअनुसार नपाएको बताइन्।

उनले कुनै पनि ठाउँमा निर्णायक पदमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्ने बताइन्। निश्चित सहभागिता गराउनैपर्ने बाध्यकारी कानून बनाउनुपर्ने सुझाव दिइन्। उनले राजदूत सिफारिसमा सरकार गम्भीर रहेको बताइन्। आगामी दिनमा समावेशी र समानुपातिकतालाई मध्यनजर गर्ने बताइन्।

मन्त्री राणाले हरेक सरकारी प्रतिनिधिमण्डलमा एकभन्दा धेरै हुनेबित्तिकै एक जना महिलाको उपस्थिति अनिवार्य राख्नैपर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको पनि बताइन्।