पर्यटकको चहलपहल बढ्न थालेपछि व्यवसायी उत्साहित

 म्याग्दी - म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

बर्खायाम नसकिँदै विदेशी पर्यटकको आगमन सुरु भएको जनाउँदै भदौको पहिलो सातादेखि दैनिकरूपमा २० देखि एक सय जनासम्म विदेशी पर्यटक पुनहिल पुग्न थालेका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले जानकारी दिइन् । आगामी सिजनका लागि विदेशी पर्यटकले धमाधम होटल बुकिङ गर्न थालेका उनले बताइन् ।

पुनका अनुसार असोजदेखि मंसिरसम्म र फागुनेदखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । मुख्य सिजनमा यहाँ दैनिक चार सयदेखि एक हजारसम्म पर्यटक भित्रने गरेका उनले बताइन् । उनका अनुसार अहिले पर्यटन सिजन सुरु नहुँदै विदेशीसँगै आन्तरिक पर्यटकसमेत घोडेपानी आउन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।