कर्णालीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे, उद्धार प्रयास हुँदै

 दैलेख - अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किन पुगेका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् ।

दैलेखको आठबिस नगरपालिका–६ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुङ्गे पुलको जाली खुस्किएर खुट्टा छिर्दा १४ वटा खच्चर फसेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्ने कार्य भइरहेको उनले बताए । उनले दैलेखबाट अछामतर्फ खाद्यान्न ढुवानी गर्ने खच्चरहरू पुलमा फसेको बताए । ‘झोलुङ्गे पुल बनाउने मिस्त्री बोलाएर फलामको रड लगाइ उद्धार गर्ने प्रयास भइरहेको छ,’ उनले भने । २०५७ सालमा निर्माण भएको पुल जीर्ण भएकोले चुँडिएको हो ।