राष्ट्रपति निर्वाचन आज हुँदै : मत परिणाम आजै आउने, सोमबार शपथ !

 काठमण्डोँ - देशको तेस्रो राष्ट्रपति चुन्न बिहीबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १०–३ बजेसम्म मतदान हुँदै छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने गणनाको परिणाम ढिलोमा साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ । 

मतदानका लागि ल्होत्से हलमा दायाँतर्फ संघीय संसद् र बायाँतर्फ प्रदेश सभाका लागि मतदान केन्द्र व्यवस्थापन छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार तीन सय ३२ मतदाता रहेको संघीय संसद्को मतदान केन्द्रमा एउटा मतपेटिका राखिएको छ । पाँच सय ५० मतदाता रहेको प्रदेश सभातर्फ दुईवटा मतपेटिका राखिएको छ । निर्वाचनमा संघीय सांसदको एक मतबराबर ७९ र प्रदेश सभा सदस्यको एक मतबराबर ४८ मतभार कायम गरिएको छ । मतदान केन्द्रमा १४ जना कर्मचारी खटाइएको छ । 

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । निर्वाचन अधिकृत पौडेलका अनुसार उम्मेदवार निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ  । ५० प्रतिशत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । 

मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् । मतदान स्थलमा प्रज्वलनशील पदार्थ, हातहतियार, मोबाइल र क्यामेरा निषेध गरिएको छ । मतदानका लागि महिला र पुरुषको छुट्टै लाइनको व्यवस्था गरिएको छ ।  सम्पूर्ण तयारी पूरा भएको मतदानस्थलको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र उम्मेदवारका प्रतिनिधिद्वय रमेश लेखक र महेश बर्तौलाले निरीक्षणसमेत गरेका छन् । 

निर्वाचन अधिकृत पौडेलले निर्धारित समय ३ बजेभन्दा पछि छुटेका मतदातालाई मतदानमा सहभागी नगराइने बताए । ‘मतदान सकिएपछि मुचुल्का गरेर मतपेटिकालाई गणनास्थलमा लान्छौँ । ४ बजेदेखि गणना थाल्छौँ,’ उनले भने ।