प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको आज सुनुवाइ हुँदैछ । 

गत मंगलबार प्रचण्डलाई पक्राउ गरी मुद्दा चलाउन आदेशको माग गर्दै रिट दर्ता गरिएको हो । द्वन्द्वपीडितका तर्फबाट अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीले दुईवटा रिट दायर गरेका छन् ।

माघी पर्वका अवसरमा माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले २०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा ‘सामन्ती राजाहरूले १२ हजार जनता मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । दाहालको यही सार्वजनिक अभिव्यक्तिका विरुद्धमा रिट परेको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको अघिल्लो शुक्रबारको इजलासले दाहालले दिएको अभिव्यक्तिविरुद्धको रिट दर्ताका लागि सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो ।