‘कोशी’ विरुद्ध आमहड्ताल घोषणा : सँगसँगै लेटरप्याड जलाइने, बोर्ड हटाइने

काठमाण्डौँ - प्रदेश नम्बर १ को नाम कोशी राखिएकोमा असन्तुष्ट रहेका पूर्वी नेपालका विभिन्न जातीय संगठनहरुले आदिवासी जनजाती महासंघसँग मिलेर अर्को चरणको संयुक्त आन्दोलन घोषणा गरेका छन् । यसअघि आ–आफ्नै तरिकाले संघर्ष अघि बढाएका ती संगठनहरुले आन्दोलनलाई केन्द्रीकृत गरेर जाने सहमति गरेका हुन् ।  

लिम्बुवान–किरात संयुक्त संघर्ष समिति, पहिचानसहितको प्रदेश नम्बर १ को पुनः नामाकरण अभियान समिति र किरात–राई यायोक्खाले प्रदेशको नाम खारेजीको निम्ति अहिलेसम्म भएका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै आज संयुक्त बैठक राखेका छन् । आदिवासी जनजाती महासंघ र अरु जातीय घटकहरुसँग संयुक्त बैठकले हालसम्म भएका आन्दोलनका कार्यक्रम सफल भएको निष्कर्ष निकालेको छ भने एकीकृत आन्दोलनका लागि ‘प्रदेश नं। १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ गठन गरेको छ  ।