४७ किलो चाँदीका गरगहनासहित ३ जना पक्राउ

काठमाडौं । ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनाहरूसहित ३ जना लाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका - २१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट गरगहनाहरूसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका- १० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका(३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका- ५ का २० वर्षीय मनिष सरार्फ रहेका छन् ।

विभिन्न ठाउँमा राजश्व छलि गरि बिल/बिजक बिना चाँदीका गरगहनाहरु भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।