खुकुरी प्रहार गरेर बाबुले गरे छोराको हत्या

काठमाडौँ । इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । माई नगरपालिका- ६ का दिलकुमार राईले छोरा १९ वर्षीय जीवन राईको हत्या गरेका हुन् ।

सोमबार बेलुका ७ बजे घरझगडाका क्रममा ३६ वर्षीय दिलकुमारले छोरा जीवनको पेटमा खुकुरी प्रहार गरेका थिए । घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

कक्षा ११ मा अध्ययन गर्ने जीवन दिलकुमारका एक्लो छोरा थिए । घटनापछि हिजो बेलुका नै स्थानीयबासीले उनलाई प्रहरीको जिम्मा लगाएका हुन् ।