शेयर बजारमा सुखद क्षण, नेप्से २० अंकले वृद्धी हुँदा कारोबार ६ अर्ब नाघ्यो

काठमाडौं । शेयर बजार परिसूचक नेप्से २० भन्दा बढी अंकले बढेको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से २०.६२ अंकले बढेको हो ।

अन्तिममा २०८० अंकमा आइपुगेर बन्द भएको नेप्से ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ । आज १६५ कम्पनीको शेयर बढेको छ । यस्तै, ७७ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर छ ।

नेप्से परिसूचक दोहोरो अंकले बढे पनि तीन समूहको सूचकमा गिरावट आएको छ । जलविद्युतमा ११ अंक, उत्पादनमूलक समूहमा २ र म्यूचुअल फण्ड समूहमा ०.०२ अंकले घटेको हो ।

यस्तै, होटल र पर्यटन समूहको सूचकमा १५२ अंकको वृद्धि हुदा जीवन बीमा समूह १०१ अंकले बढेको छ ।