लोसपाका वरिष्ठ नेता महतोले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने 

 काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

लोसपामा असन्तुष्ट उनले छुट्टै अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । उनले सुरुमा मधेसमा अभियान सञ्चालन गर्ने र त्यसपछि नयाँ पार्टी बनाउने योजना बनाएको बताइएको छ । त्यसका लागि दस्ताबेज समेत तयार गरिसकेको उनी निकट स्रोतको भनाइ छ । 

नेता महतो निकट स्रोतका अनुसार उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ र ‘अब के गर्ने ?’ भन्ने शीर्षकमा दुई वटा दस्ताबेज तयार गरिसकेका हुन् । ती दुई दस्ताबेज लिएर उनी मधेसमा जाने बताइएको छ । 

मधेसमा आन्दोलनको अझै आवश्यकता रहेको र त्यसको तयारी थाल्ने गरी उनी अभियानमा निस्कन लागेको बताइन्छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीलाई आफूखुशी चलाएको महतोको आरोप छ ।