उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने 

काठमाडौँ - उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको सुनाएका थिए । 

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाका अनुसार उत्तर कोरियाली राजदूतले नेपालको आफ्नो दूतावास बन्द गर्न लागेको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको बताए । उत्तर कोरियाली राजदूत मेनले सोमबार प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगेका थिए । 

प्रधानमन्त्रीलाई जानकारी गराएसँगै नेपालस्थित उत्तर कोरियाली दूतावासले नेपाल छाड्ने तयारी सुरु गरेको छ । ललितपुरको झम्सिखेलमा दूतावासको कार्यालय रहेको छ। परराष्ट्र मन्त्रालयलाई समेत उत्तर कोरियाली दूतावासले आफ्नो निर्णयबारे जानकारी गराइसकेको छ  । अहिले सीमित कर्मचारी राखेर उत्तर कोरियाले आफ्नो दूतावास सञ्चालन गर्दै आएको थियो । 

उत्तर कोरियाली दूतावास बन्द गर्ने निर्णयप्रति प्रधानमन्त्री दाहालले राजदूतसँग दुःख व्यक्त गरेका थिए । प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै परराष्ट्र सल्लाहकार सापकोटाले अन्नपूर्णसँग भने, ‘दूतावास बन्द गर्ने निर्णयबाट म दुःखि छु । म आशा गर्छु उत्तर कोरियाले छिट्टै आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने छ ।’

परराष्ट्र सल्लाहकार सापकोटा, प्रधानमन्त्री प्रचण्ड र राजदूत जो योङ मेनबीच भएको छलफलमा सहभागी थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।