कोशीमा कार्कीले मुख्यमन्त्रीको शपथ लिँदै, आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी

काठमाडौँ - कोशी प्रदेशमा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिन लागेका छन् ।सर्वोच्च अदालतले बिहिबार दिएको परमादेश अनुसार ठूलो दलको हैसियतमा कार्कीले शपथ लिन लागेका हुन् ।

आजै शुक्रबार साझसम्म शपथ दिलाउने तयारी थालिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने गरी आन्तरिक गृहकार्य सुरु गरेका छन् ।

कोशीका मुख्यमन्त्री कांग्रेसका उद्धव थापालाई सर्वोच्च अदालतले बिहिबार पदमुक्त गर्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र कोशीको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेपछि थापा पदमुक्त भएका हुन् ।

दुईपटक मुख्यमन्त्री बनेका थापा दुवै पटक अदालतबाट पदमुक्त भएका हुन्। पहिलोपटक २२ दिनमा सर्वोच्चबाट पदमुक्त बनेका कोशीका मुख्यमन्त्री  थापा दोस्रो पटक ३८ दिनमा सर्वोच्चबाटै पदमुक्त बनेका हुन्।

कोशीमा सत्तारुढ गठबन्धनमा कांग्रेसका २९, मा‍ओवादी केन्द्रका १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन्।