साउन १ देखि स्वचालित प्रणालीमार्फत श्रम स्वीकृति पाइने

काठमाण्डौँ - आउँदो साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान हुने भएको छ ।

म्यानपावरहरूले आफ्नै कम्पनीमा बसेर वैदेशिक रोजगारीमा जाने श्रमिकको सूचना अनलाइन सिस्टममा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव एकनारायण अर्यालले जनाकारी दिए । 

यो व्यवस्था कार्यान्वयनमा आएपछि पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि फाइल बोकेर म्यानपावर कम्पनीहरू श्रम तथा रोजगार कार्यालयहरूमा धाउन पर्दैन । मन्त्रालयले अहिलेको अनलाइन प्रणालीलाई परिमार्जन गर्दै पूर्व र अन्तिम श्रम स्वीकृति सम्बन्धी सबै काम स्वचालित प्रणालीबाटै हुने व्यवस्था गरेको हो । तर म्यानपावर कम्पनीहरूले झुटा विवरण राखेको ठहरिएमा भने कम्पनी खारेजीसम्मको सजाय हुने मन्त्रालयले जनाएको छ ।